नवलपरासीका जनताको चेतावनीः ‘नो लालपुर्जा नो भोट’

0 273

नवलपरासी । पाँच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् ।

गाउँ गाउँमा स्थानीय तहको निर्वाचनको प्रचार तीब्र हुदैं गर्दा सुकुम्बासी मतदाता बढी भएका क्षेत्रमा ‘नो लालपुर्जा नो भोट’ को नारा चर्काउदै लैजाने सुकुम्बासीहरुको चेतावनी छ ।


पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले ‘ दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत आफुहरुले लालपुर्जा नपाएकोले यस पटकको निर्वाचनमा सहभागी नहुने बताए ।

आइतवार गाउँमा नो लालपुर्जा नो भोटको अभियान उद्घाटन गर्दै उनीहरुले पटक पटक दलहरुले लालपुर्जा दिने झुटो आश्वासनमा दिने गरेको उल्लेख गर्दै जुन सुके दल आएपनि आफूहरुको भावना माथि खेलबाड गरेको बताए ।
राजनीतिक दल र उम्मेदवारले भोट तान्न घोषणापत्रमार्फत लालपुर्जाको आश्वासन दिदै आएको भएपनि भुमिहीन सुकुम्बासीलाई ब्यवस्थापन गर्न उदाशीन रहेको सुकुम्बासीहरुको भनाई छ ।
कार्यक्रममा यस पटकको स्थानीय निर्वाचनमा गाउँमा आएर झुटा आश्वासन नबाँड्न सुकुम्बासीहरुले चेतावनी समेत दिएका थिए ।
करिब ३ सय ५० घर बढी सुकुम्बासीहरु रहेको मर्चाखोला गाउँका बासिन्दाले नो लालपुर्जा नो भोट, झुटा आश्वासन कहिले सम्म ? जस्ता चर्का नारावाजी गर्दै लालपुर्जा नलिई गाउँमा नआउन उम्मेदवारहरुलाई आग्रह गरेका हुन ।


गाउँबाट निकालिएको सुकुम्बासीहरुको जुलुस बर्दघाटको मुख्यबजार परिक्रमा गर्दै पुनः गाउँकै चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि आएका जन प्रतिनिधिले सुकुम्बासी बस्तीमा खानेपानीको धारा जडानको सिफारिस समेत रोकेको बताउदै दलहरु भोट माग्न आउने गरेको तर जनताका समस्या समाधानका लागि अभिभावक बन्न नसकेको बताए ।
जति वटा सुकुम्बासी आयोग बनेपनि आफुहरुको पक्षमा काम नगरेकोले दलहरुलाई यस पटक गाउँबाट भोट नदिने सल्लाह भएको स्थानीय बिष्णु गैरेले बताए । पटक पटक आश्वासन पायौ लालपुर्जा पाएनौ –उनले भने – यो पटक विना लालपुर्जा भोट हाल्न नजाने गाउँमा सल्लाह छ ।


जुन सुकै दलको जन प्रतिनिधि आएपनि जनताको सेवक भन्दा ठालु हुने गरेकोले स्थानीयवासीले नो पुर्जा नो भोट को अभियान ल्याएको गैरेले बताए ।
नव दुर्गा संरक्षण मन्दिर समितिका अध्यक्ष समेत रहेका गैरेले गाँउको युवा कल्ब, महिला समुह, मन्दिर समितिलगायतका संघसंस्थाको आयोजनामा संर्घष थालिएको जानकारी दिए ।


कार्यक्रममा स्थानीय मर्चाखोला विकास महिला समुहकी अध्यक्ष सिता घर्तीले सुकुम्बासी जनताहरु एकताबद्ध भएर लालपुर्जा मागेको बताइन् । पटक पटक लालपुर्जा दिने आश्वासन दिइयो –घर्तीले भनिन् – पूरा गर्नै नसक्ने भए किन आश्वासन दिने ? धेरै आश्वासनको पोको लिएर गाउँमा नआउन दल तथा उम्मेदवारहरुलाई उनले सुझाव दिइन् ।


कार्यक्रममा स्थानीय अगुवा चुडामणि भण्डारी , नव दुर्गा संरक्षण मन्दिर समितिका सचिव बीर बहादुर तमु मर्चाखोला आदर्श युवा कल्बका अध्यक्ष घनश्याम ढकाल सचिव अश्विन परियारलगायतले बोल्दै भोट बैकका रुपमा सुकुम्बासीहरु प्रयोग नहुने उद्घोष गरे । बिरोध कार्यक्रम पछि गाउँलेहरुले १७ सदस्सीय सुकुम्बासी संर्घष समिति समेत गठन गरेका छन् ।

You might also like
Loading...