सच्चा कम्युनिस्टहरूलाई एकताबद्ध हुन र माक्र्सले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न अपिल

0 355

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको जन्म दिवसको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै यो बेला सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र कार्यदिशाको विकासगर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढ्न हार्दिक अपील गर्नुभएको छ ।


वक्तव्यमा उहाँले भन्नुभएको छ, “नेपाली क्रान्तिले जनयुद्धको प्रक्रियामा गम्भीर धक्का खाए पनि हामी प्रतिक्रियावाद तथा संशोधनवादका विरुद्ध भीषण सङ्घर्ष गर्दै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद तथा साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौं । यो बेला २०४औं जन्मदिवसको अवसरमा कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता विश्व सर्वहारा क्रान्तिको एक अभिन्न अङ्गका रूपमा नेपाली क्रान्तिको प्रक्रियामा निरन्तर अगाडि बढ्नुमा रहेको छ । यो बेला सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र कार्यदिशाको विकासगर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढ्न हामी हार्दिक अपील गर्दछौं ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :
“आज ५ मई २०२२ तदनुसार २२ वैशाख २०७९ कार्ल माक्र्सको २०४आंै जन्म दिवस हो । ५ मई १८१८ का दिन जर्मनीको ट्रियर नगरमा विश्व सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको जन्म भएको थियो । कार्ल माक्र्स माक्र्सवादका प्रवर्तक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान् शिक्षक हुनुहुन्थ्यो । उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन ओटै क्षेत्रलाई एकीकृत गरी क्रान्तिकारी सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नु भयो । माक्र्सवाद विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्त हो । आज माक्र्सवाद माक्र्सवाद–लेनिनवाद–माओवादका रूपमा विकसित भएको छ । यो हाम्रो पार्टीको पथप्रदर्शक सिद्धान्त हो ।

माक्र्सवादको प्रादुर्भाव सँगै संशोधनवादले विश्वव्यापी रूपमा माक्र्सवादमाथि भीषण हमला गर्दै आएको छ । विश्वमा क्रान्ति र प्रतिक्रान्तिका आरोह–अवरोहका प्रक्रिया चल्दै आएका छन् । रूस, चीन लगायतका देशहरूमा भएका प्रतिक्रान्तिका घटनालाई देखाएर विश्वभरि नै प्रतिक्रियावादीहरूले माक्र्सवादको औचित्य समाप्त भयो र साम्यवादी इतिहासको अन्त्य भयो र पुँजीवाद निर्विकल्प भयो भन्ने झुटा प्रचारवाजी गर्दै आएका छन् । तर सत्य के हो भने वर्तमान साम्राज्यवादी नवउदारवाद असफल भएको छ र विश्व भयानक आर्थिक सङ्कटको भुमरीमा फस्दै आएको छ । यो सङ्कटको भार उत्पीडित जनताको थाप्लोमा बोकाउन साम्राज्यवादले गरेका हर प्रयास असफल हुँदै गएका छन् । फलतः विश्वभर पुँजी र श्रमका बीचको अन्तर्विरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्र तथा जनताका बीचको अन्तर्विरोध एवम् अन्तर–साम्राज्यवादी अन्तर्विरोध सबै चर्किएर गएका छन् । साम्राज्यवादका सबै उपायहरु असफल बन्दै गएको र विश्वका सबै आधारभूत अन्तर्विरोधहरु विष्फोटक बन्दै गएको स्थितिमा कतिपय मानिसहरुले तेस्रो विश्व युद्धको खतरा बढ्दै गएको आँकलन गर्न थालेका छन् । वर्तमान रुस–युक्रेन युद्धले त्यतै सङ्केत गर्दछ । विश्वव्यापी रुपमा विस्तार हुँदै गएको प्रतिरोध र संभावित विश्वयुद्धको खतराले आउने दिनहरु उथलपुथल पूर्ण हुने देखिन्छ ।

यो स्थितिमा विश्वव्यापी रूपमा माक्र्सवादको औचित्य र त्यस प्रतिको आकर्षण झनै बढिरहेको छ । माक्र्सवाद तथा वैज्ञानिक समाजवादमा विश्वका जनताले आफ्नो मुक्ति देखिरहेका छन् । साम्राज्यवादको एकमात्र विकल्प वैज्ञानिक समाजवाद हो भन्ने कुरा प्रमाणित हुँदै गएको छ । माक्र्सवाद सङ्घर्षको दर्शन तथा सिद्धान्त हो र सङ्घर्षकै बीचबाट यसको प्रयोग र विकास हुँदै आएको छ । कतिपय बुर्जुवा अर्थशास्त्रीहरुले समेत पुँजीवाद असफल भएको र यसको विकल्प खोज्नुपर्ने आवश्यकता औल्याउन थालेका छन् ।

नेपाली क्रान्तिले जनयुद्धको प्रक्रियामा गम्भीर धक्का खाए पनि हामी प्रतिक्रियावाद तथा संशोधनवादका विरुद्ध भीषण सङ्घर्ष गर्दै नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद तथा साम्यवादको महान् उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेका छौं । यो बेला २०४औं जन्मदिवसको अवसरमा कार्ल माक्र्सका ऐतिहासिक तथा युगान्तकारी योगदानहरूको पुनः संस्मरण र माक्र्सवादप्रति निष्ठा जाहेर गर्नुको सार्थकता विश्व सर्वहारा क्रान्तिको एक अभिन्न अङ्गका रूपमा नेपाली क्रान्तिको प्रक्रियामा निरन्तर अगाडि बढ्नुमा रहेको छ । यो बेला सच्चा कम्युनिष्टहरूलाई एकताबद्ध हुन आह्वान गर्दै र कार्यदिशाको विकासगर्दै माक्र्सले देखाएको युगान्तकारी परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढ्न हामी हार्दिक अपील गर्दछौं ।

विश्वभरिका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट कमरेडहरू लाल सलाम !
सर्वहारा अन्तर्राष्ट्रियतावाद जिन्दावाद !!
मिति ः वैशाख २२, २०७९

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)”

You might also like
Loading...