क्रान्तिकारी माओवादीको सम्पन्न निर्वाचनबारे धारणा सात बुँदामा सार्वजनिक

निर्वाचन बहिस्कारको नीति सही भएको पुष्टि

0 779

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सम्पन्न स्थानीय निर्वाचनका सम्बन्धमा आफ्नो प्रारम्भि धारणा सार्वजनिक गरेको छ । पार्टी महासचिवले एक प्रेस वक्तव्यमार्फत् निर्वाचनका सम्बन्धमा पार्टीको प्रारम्भिक धारणा सार्वजनिक गर्नुभएको हो । निर्वाचनका सम्बन्धमा पार्टीको धारणा सातवटा बुँदामा सार्वजनिक गरिएको छ ।

वक्तव्यको पहिलो अनुच्छेदमा भनिएको छ, “नेपाल सरकारले एकै चरणमा सक्ने गरी आयोजना गरेको स्थानीय निकायको निर्वाचन हिजो वैशाख ३० गते ५ बजे सकिएको छ । यस निर्वाचनमा उमेदवारले मतदातालाई आकर्षित गर्न साम, दाम, दण्ड, भेदका सबै उपायहरु प्रयोग गरेका छन् । सरकारले दर्जनौ राउण्ड गोली, सयौं राउण्ड अश्रुयास र अन्धाधुन्ध लाठीचार्जका बीचबाट चुनाव सफल भएको घोषणा गरेको छ । यस प्रक्रियामा एक जनाको गोली लागेर, एक जनाको भिडन्तमा परेर र एक जनाको नेताको गाडीले किचेर मृत्यु भएको छ र हजारौं मतदाता घाइते भएका छन् । जनताको सचेत विरोध, विभिन्न समूहका बीचको आपसी झडप र मतदान गराउन खटिएका कर्मचारी कै लापरवाहीका कारण ७७ केन्द्रमा मतदान स्थगन गरिएको छ ।”

वक्तव्यमा पार्टीको चुनाव बहिष्कारको कार्यक्रमलाई जनतासम्म पु¥याउन अहोरात्र खट्ने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र पार्टीको आह्वानलाई स्वीकार गरी बहिष्कार आन्दोलनमा सहभागी हुने आम जनतालाई पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

निर्वाचनसम्बन्धी धारणा यसप्रकार रहेको छ :

“एक, यस पटकको स्थानीय निर्वाचनमा विचार, दृष्टिकोण तथा आदर्शमा आधारित हुने संसदीय प्रतिस्पर्धाको राजनीति प्रायः समाप्त भएको छ । विचारका दृष्टिले विपरीत ध्रुवमा उभिने पार्टीहरु मध्ये माओवादी केन्द्रले रुखमा र काङ्ग्रेसले हँसिया हथौडामा भोट हाल्न विचार तथा पार्टीप्रति प्रतिबद्ध आफ्ना कार्यकर्तालाई दिएको बाध्यकारी निर्देशनले यसैको पुष्टि गर्दछ । राजनीतिक पार्टी सत्ता स्वार्थका समूह बनेका छन् ।

दुुई, अहिलेको चुनावी गठबन्धन समग्र पार्टी र जनताको हितका लागि होइन, मूल नेतृत्वको सत्ता स्वार्थका लागि गरिएको प्रस्ट छ । कुनै एकजना उमेदवारलाई जिताउनका लागि गठबन्धनका सबै नेताहरु खनिने र उनले चुनाव नजिते देशै डुब्ने भन्ने जस्ता अभिव्यक्तिले अव पार्टीहरुको भूमिका सकिएको र नेताहरु नै निर्णायक भएको कुरा दर्शाउँछ । यो आन्तरिक जनवादको समाप्ति र नेपालमा संसदीय व्यवस्था असफल भएको प्रमाण हो ।

तीन, चुनावी प्रचार–प्रसार पार्टीका आर्थिक राजनीतिक कार्यक्रम तथा जनताका एजेण्डाका आधारमा भएको पाइएन । यस पटकको चुनावमा डर, त्रास, धम्की, प्रलोभन, भोज–भतेर तथा क्षणिक आर्थिक लाभद्वारा सम्बन्धित उमेदवार तर्फ मत आकर्षित गर्न खोजेको देखियो । चुनावी खर्चको आँकडा हेर्दा सामान्य मजदुर किसानले यसबारे सोच्नै नसक्ने स्थिति बनेको छ । यो आर्थिक स्थिति कमजोर भएका उत्पीडित जनतालाई राजनीतिक गतिविधिबाट विमुख बनाउने र राजनीतिमा दलाल तथा नोकरशाह पुँजीपति, सामन्त र पैसावाला ठेकेदारहरुको एकाधिकार कायम गराउने षडयन्त्रको एउटा हिस्सा हो ।

चार, यस पटकको स्थानीय निर्वाचनमा जे जस्ता गलत गतिविधिहरु देखिए ती अमुक पार्टी वा व्यक्तिका कारणले मात्र पैदा भएका होइनन् । बरु, ती भ्रम छर र खाऊ भन्ने एकाधिकारी उपभोक्तावादी पुँजीवादका स्वाभाविक परिणाम हुन् ।

पाँच, यस पटक पहिलेका चुनावमा जस्तो जनताको उत्साह देखिएन । खास गरी राजधानी र सहरी क्षेत्रमा जन सहभागिता कम भएको छ । अर्कोतिर, एमसीसी पक्षधर नेताका गाडीमा ढुङ्गा मूढा गर्ने, ती नै नेताका सामु एमसीसी खारेज गर भन्ने नारा लगाउने र मत पेटिका खोसेर फोर्ने जुन काम जनताले गरे त्यसले सत्ता, व्यवस्था र तिनका सञ्चालक नेताप्रति जनताको वितृष्णा चुलिँदै गएको देखाउँछ ।

छ, निर्वाचन बहिष्कारको नीति अन्तर्गत पार्टीले प्रतिक्रियावादी सत्ता र व्यवस्थाका विरुद्ध सञ्चालन गरेका शान्तिपूर्ण प्रचारात्मक कार्यक्रमहरु माथि देउवा नेतृत्वको गठबन्धन सरकार निर्लज्ज दमनमा उत्रियो । बहिष्कार कार्यक्रम लिएर जनतासम्म जाने प्रक्रियामा विभिन्न समय र स्थानमा पार्टीका स्थायी समिति सदस्यदेखि सामान्य समर्थक कार्यकर्तासम्म पुलिसको हिरासत र यातनाका शिकार भए । यसले नेपाली जनताले लामो र कठोर सङ्घर्षबाट प्राप्त गरेका सीमित जनतान्त्रिक अधिकारहरु पनि खोसिंदै गएको र सरकारले सत्ता रक्षाका लागि फासीवादको सहारा खोजेको प्रस्ट हुन्छ ।

सात, उपरोक्त तथ्यका आधारमा हाम्रो पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले स्थानीय निर्वाचनको बहिष्कारलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा लिने जुन निर्णय लिएको थियो त्यो वस्तुवादी, सही र समसामयिक थियो भन्ने पुष्टि भएको छ ।”

You might also like
Loading...