´´ वर्तमान राज्यसत्ताको संकट र नयाँ विकल्पको प्रश्न “

0 555

                                                                                                                                                                                                        –  भुपेन्द्र  न्यौपाने
      कुनै पनि राजनीतिक सत्ता र व्यवस्था यथास्थितिमा रहन सक्दैन र सार्वकालिक पनि हुँदैन । वर्तमान नेपाली समाजमा विद्यमान सत्ता र व्यवस्थामा उत्पन्न संकटले उक्त तथ्यबाट  थप  पुष्टि गरेको छ । जब सत्ता र व्यवस्था पुरानो हुँदै जान्छ, त्यसले वर्तमान समाजको नेतृत्व प्रदान गर्न सक्दैन, बरु त्यसले नयाँमा विकासको लागि थप संकट र नयाँ सम्भावनाहरु उत्पन्न गर्छ । त्यस्तो  स्थितिमा जनताले विकल्पको खोजी गर्नु नै मुख्य कार्यभारको विषय बन्छ । तसर्थ, आज विद्यमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको राज्यसत्ता र संसदीय व्यवस्थामा उत्पन्न संकटले विकल्पको प्रश्नलाई  स्वभाविक र नियमसंगत ढंगले पेश गरेको छ । साथै, पुरानो राज्यका मुख्यत: तीनवटै अङ्गहरु  कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भएको स्थितिमा संसदीय दलालहरुले नोकरशाही संयन्त्रको बलमा राज्यसत्ता र व्यवस्था टिकाइरहेका छ्न । त्यो धेरै दिन सम्म  टिक्ने स्थिति भने छैन । अत: क्रान्तिकारी जनसमुदायले उथलपुथलकारी संघर्ष तथा सचेत धक्का र क्रान्तिकारी विद्रोहको प्रक्रियाद्वारा पुरानो सत्ता ध्वस्त गरी संघीय जनगणतन्त्रको स्थापनाको प्रक्रियामा अगाडि बढ्नुको विकल्प छैन ।
     

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा वि.स.२००७ सालको क्रान्तिले राणाहरुकाे एकतन्त्रीय शासन सत्ताको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्‍यो । साथै, सामान्यतः जनताले आलोचनात्मक विचार अभिव्यक्तिको अधिकारसम्म प्राप्त गरे । जसको फलस्वरूप पुरानो राज्य-व्यवस्थाको विकल्पमा नयाँ व्यवस्थाले स्थान ओगट्याे । त्यसको विकल्प खोज्दै जाँदा वि.स. २००९ सालमा केही राजनीतिक पार्टी वा दलहरू सम्मीलित सल्लाहकार सभाको गठन गरियो । उक्त राजनीतिक दलहरुको सहभागितामा बनेको सल्लाहकार सभा राज्यसत्ताको संरचनागत आधार निर्माणको एउटा विकल्प बन्यो । त्यसैको पृष्ठभुमिमा वि.स.२०१५ सालमा मुलुकमा संविधान जारी भएको थियो र त्यस संविधान अन्तर्गत राज्य सञ्चाल गर्ने राज्यका प्रमुख तीनवटा अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गठन गरिएका थिए । परन्तु, जनतालाई झुक्याउने र आफ्नो लुटको राज बचाउने निरन्तरतामा व्यवस्थाका नाम मात्र परिवर्तन गरियो । जसको फलस्वरूप वर्तमान व्यवस्थाले जनताको आमूल परिवर्तनको अपेक्षा पूरा गर्न सकेन र उत्पीडित वर्ग तथा समुदायलाई विकल्पको खोजीका निमित्त निरन्तर संघर्षको बाटो रोज्न बाध्य बनायो ।
   

नेपालमा उच्च वर्ग वा दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको अभिष्ट पुरा गर्ने उद्देश्यले राज्य संचालन गर्नका निमित्त स्थापना गरिएको राजनीतिक सत्ता र त्यसका तीनवटा अंगहरु कार्यपालिका , व्यवस्थापिका र न्यायपालिका असफलसिद्ध मात्रै होइन, अपितु दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्य प्रणालीले एकातिर आफ्नो आन्तरिक सार नै गुमाएको छ भने अर्कोतिर जनताले तिरस्कार समेत गरिसकेका छ्न । किन्तु पुरानो राजनीतिक सत्ता र व्यवस्थाका विरुद्ध जनताको सचेत विद्रोहात्मक चेतलाई दमनको प्रक्रियाबाट शासकहरुले रोक्ने दुस्साहस गर्दै आएका छन र अस्तित्वको रक्षाका निम्ति पुरानो राज्यसत्तालाई नोकरशाही संयन्त्रको बलमा टिकाइरहेका छन । तसर्थ अब असफल भइसकेको राज्य प्रणाली विकल्प हुन सक्दैन । साथै, वर्तमान राज्यसत्तामा सुधार होइन आमूल परिवर्तन गर्न जरुरी छ । यसकारण, आजको वस्तुगत संकटको समाधान पनि नेपाली समाजको आमूल परिवर्तन वा  रुपान्तरणबाट मात्र सम्भव छ ।
    

कुनै पनि आन्तरिक वा बाह्य, जटिल र चुनौतीपूर्ण वा कठिन  परिस्थितिहरुको नेपालका उत्पीडित वर्ग र समुदायले सामना गर्दै आएका छन । यो नेपालका उत्पीडित जनताको निरन्तर संघर्षको जीवन प्रक्रिया र जन-मुक्तिको अपेक्षासित जाेडिएकाे प्रश्न हो । ऐतिहासिक दृष्टिले हेर्दा अतितमा राजामहाराजाहरुको शासन सत्ता देखि वर्तमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध एवं नयाँ सामाजिक सत्ता र व्यवस्था स्थापनाका निम्ति विभिन्न जनआन्दोलन, जनसंघर्ष, वर्गसंघर्ष र मुख्यतः दस वर्षीय जनयुद्धसम्मका संघर्षका विभिन्न रुपहरु प्रयोग भए । उक्त संघर्षहरुमा नेपाली जनताका होनहार छोराछोरीहरुले उच्च बलिदान गरे भने कयौं मानिसहरु बेपत्ता पारिए र  कैयौं मानिसहरू घाइते तथा अपाङ्ग बनाइएका छ्न । किन्तु साम्राज्यवादी र विस्तारवादी तथा घरेलु प्रतिक्रियावादीहरुका षड्यन्त्रकै कारण जनताको परिवर्तन वा मुक्तिको सपना सार्थक हुन सकेन । बरु उनै शासकहरुद्वारा व्यवस्थाका नामहरु परिवर्तन गरी जनतालाई झुक्याएर गद्दारी गरियो । जसको फलस्वरूप यहाँ सम्म राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका प्रश्नहरु अझै जटिल र गम्भीर बन्दै गएका छन् । वर्तमान राज्यसत्ता र व्यवस्थाको निरन्तरतामा उपरोक्त समस्याहरु  समाधान हुन  सक्दैनन्, अपितु पुरानोको निरन्तरतामा क्रमभंग गरी नयाँ विकल्प खोज्नु बुद्धिमानी हुन्छ भन्ने कुरालाई निकै  गम्भीरताका साथ लिन जरुरी छ ।
    

आज विद्यमान संकटककाे सन्दर्भमा विभिन्न प्रकृतिका विचार अभिव्यक्तिहरु व्यक्त भैरहेका छ्न । जुन अभिव्यक्तिहरु निम्न अनुसार रहेका छ्न :- पहिलो, कुनै अमुक व्यक्ति वा पात्रको व्यक्तिगत चेतना, क्षमता, स्वभाव, कार्यशैली र व्यवहारको कारण संकट उत्पन्न भयो भन्ने विचार प्रकट भएको छ । दोस्रो, कुनै संरचनागत असन्तुलन र विदेशी शक्तिको नियन्त्रण प्रक्रियाको आकस्मिकताको परिणाम हो भन्ने तर्क छ । तेस्रो, सत्ताशीन पार्टी र विचारको अवैज्ञानिकता कारण संकट उत्पन्न भयो भन्ने तर्क छ । चौथो, समग्र पुरानो विचार र त्यस अन्तर्गतको राज्य प्रणाली कै असफलताको फलस्वरूप उत्पन्न वस्तुगत वा प्रतिक्रियावादी संकट हाे भन्ने तर्क छ । अाज प्रतिक्रियावादीहरुले विभिन्न कुतर्क गरेर बहसलाई मिथ्या बनाउने कुचेष्टा गरिरहेका छ्न भने क्रान्तिकारीहरुले बहसद्वारा नयाँ तथ्यहरुको गहिरो खोज वा अन्वेषण गरी नयाँ  निष्कर्षमा पुग्ने अाँट गर्नु पर्दछ । साथै, विकल्पको सन्दर्भ पनि नेपाली समाजमा अनेक प्रकृतिका विचारहरु व्यक्त भइरहेका छ्न । किन्तु समाजमा विद्यमान प्रवृत्तिहरुद्वारा अभिव्यक्त विकल्पहरु निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ :- पहिलो, संसदवादीहरुको संसदीय राजनीतिक निरन्तरताको यथास्थितिवादी विकल्पको प्रश्न छ । दोस्रो, अतितमुखी शक्तिहरुको पुनस्र्त्थानवादी विकल्पको हल्ला पनि चलिरहेको छ । तेस्रो, आमूल परिवर्तनको क्रान्तिकारी विकल्पको कुरा हो । उपरोक्त संकट तथा विकल्पहरु मध्ये आज समग्र पुरानो राज्य प्रणालीकै असफलता हो र क्रान्तिकारी राजनीतिक विकल्पको प्रश्न नै सही र वैज्ञानिक छ । मुलतः वर्तमान संकट तथा विकल्पकाे सन्दर्भमा तर्कहरु सतही र आलोचनात्मक दुवै प्रकृति छ्न । परन्तु बाहिर आइरहेका अभिव्यक्तिहरु प्रतिक्रियावादी संकट कै उपज हुन र आजको परिस्थिति पनि प्रतिक्रियावादी राज्य प्रणाली कै असफलताको फलस्वरुप उत्पन्न परिणाम हो भन्ने तर्क नै सही छ ।
   

खासगरी संसारका सम्पूर्ण वस्तुहरुको विकास वा विनाश हुनुमा स्वयं वस्तु कै आन्तरिक कारण नै प्रधान हुने गर्दछ । तसर्थ वर्तमान राज्यसत्ता तथा व्यवस्थाको गम्भीर संकट र असफलताको कारण पनि आन्तरिक पक्ष नै मुख्य कारक हो । पुरानो राज्यसत्ता तथा व्यवस्थाकाे विघटन वा समूल नष्ट हुनुका आधारभूत र अनिवार्य कारणहरु निम्नानुसार  प्रस्तुत गर्न सकिन्छ- पहिलो कारण, पुरानोको अन्त्य र नयाँको जन्म एउटा अकाट्य नियम हो । यो पुरानो एक निश्चित अवस्थामा पुगे पश्चात त्यसको बिनाश र नयाँको विकास हुने नियम प्रक्रियासित जाेडिएको प्रश्न पनि हो । दोस्रो कारण, पुरानो राज्यसत्ता र व्यवस्थाले आफ्नो सार नै गुमाइसकेको कारण विनाशकै बाटो रोज्ने कुरा निश्चित छ । यो कुनै व्यक्ति विशेषको मनोगत वा आवेगको अभिव्यक्ति होइन, वस्तुगत जगतको ठाेस र मूर्त तथ्य हो । तेस्रो कारण, नेपालको अर्थ-राजनीतिक वृत्तमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी आँखी झ्यालबाट हेर्दा पुरानो प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्था संकटग्रस्त बन्दै गएको छ । यस सन्दर्भमा आज ठुलाे बहस चलिरहेको छ र बहसले त्यसको समाधान पनि खोजिरहेको देखिन्छ । त्यसको समाधान भनेको नयाँ विकल्प नै हो । चौथो कारण, संसदवादीहरुको आज सम्मको पुरानो राज्य प्रणालीको अभ्यास सैद्धान्तिक र व्यवहारिक दुवै दृष्टिले असफल सावित भएको छ । तसर्थ अब जनस्तरको एक सचेत र निर्णायक विद्रोह नै असफल वा पुरानो संरचनालाई समूल नष्ट गर्ने एक विशिष्ट कारण बन्नेछ भन्ने हो ।
   

अन्तमा आजको संकट र विकल्पको सन्दर्भमा विभिन्न कोणबाट विश्लेषण भइरहेका छ्न । किन्तु तथ्यहीन तर्कहरुले नेपाली समाजमा एक प्रकारको भ्रम वा प्रदूषण नै फैलिएको छ । वर्तमान संकटको परिस्थितिको सन्दर्भमा झट्ट हेर्दा सामान्य लाग्ने किन्तु यो विषय निकै जटिल छ । यो सानो लेखमा सम्पूर्ण विषयवस्तुको विस्तृत व्याख्या भने सम्भव छैन । तथापि यस लेखमा उठान गरेका विषयवस्तुको अभिप्राय के हो भने वर्तमान संकटको कारक तत्व, त्यसका पछाडीको भ्रम र यथार्थ तथा नयाँ विकल्पको सन्दर्भमा मूर्त तथ्यहरु प्रस्तुत गर्ने एक सचेत प्रयत्न हो । वस्तुतः भ्रम र झुठमा आधारित भ्रामक तर्कहरु खारेज गरी ऐतिहासिक र सैद्धान्तिक तथ्यहरुको आधारमा बहसलाई सार्थक र निचोडमा पुर्‍याउनु पर्छ भन्ने सचेत चेष्टा नै यस लेखको अन्तर्वस्तु हो । यद्यपि बजारमा तर्क जेसुकै उठे पनि आजको समग्र संकट वस्तुगत संकटकाे उपज हो भन्ने कुरा प्रष्टै छ ।उपरोक्त संकट वा समस्याको राजनीतिक र दीगो समाधान संघीय जनगणतन्त्रको स्थापना नै हो । तसर्थ संघीय जनगणतन्त्रको स्थापनाको लागि सशस्त्र संघर्षको राजनीतिक प्रक्रियाको थालनी गर्न जरुरी छ । साथै, त्यो महान प्रक्रियामा अगाडि बढ्न सर्वहारा वर्ग र सर्वहारा वर्गको पार्टीले सर्वहारा क्रान्तिको विज्ञान एवं मुक्तिको दर्शन माक्र्सवाद -लेनिनवाद -माओवादको सार्वभौम सत्यलाई आत्मसात गर्नैपर्छ भन्ने हो ।

(लेखक:- नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सचिव  भुपेन्द्र न्यौपाने ” सङ्कुल” हुन् )

You might also like
Loading...