सातै प्रदेशमा ६ वाम घटकको विरोध प्रदर्शन

0 350

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ वाम घटकले पेट्रोलियम पदार्थ लगायत सम्पूर्ण वस्तु र सेवामा भएको चर्को मूल्य बृद्धि र कृषि मलको चरम अभावका साथै राष्ट्रघाती नागरिकता विधेयकका विरुद्धमा देशका सातै प्रदेशका मुख्य सहरहरुमा आज विरोध प्रदर्शन गरेको छ ।

बर्खे झरीको प्रवाह नगरी प्रदेश ३ अर्थात् संघीय राजधानी काठमाडौंको रत्नपार्क, १ नं प्रदेशको बिराटनगर, मधेस प्रदेशको जनकपुरमा, वागमती प्रदेशको काठमाडौमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा विरोध प्रदर्शन गरिएको छ ।

काठमाडौंको विरोध प्रदर्शनसहितको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहनु भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेल, नेकपा (मसाल) महाधिवेशन समन्वय समितिका नेता नारायण सापकोटा, नेकपाका अध्यक्ष लोकनारायण सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । पानीमा रुझ्दै नेताहरुले आफूहरुले उठाएका माग तत्काल पूरा नगरे नेपालमा श्रीलंकाको स्थिति आउने दावी गरे ।

अध्यक्ष सिपी गजुरेलले जनविद्रोहको श्रीलंकाको मोडल नेपाली जनताको लागि अनुकरणीय रहेको चर्चा गर्दै जनविद्रोहबाट सत्ता कब्जा गर्ने श्रीलंकाली जनतालाई अभिवादन समेत गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालका शासकहरुले श्रीलंकाको संकटबाट पाठ सिक्न सक्दैनन् किनकि वर्गस्वार्थले गर्दा उनीहरु त्यो सिक्न र चेत्न चाहेर पनि सक्दैनन् । अब उनीहरुलाई नेपाली जनताले चेताउनु पर्छ । जनविद्रोहको श्रीलंकाली मोडल नेपाली जनताका लागि अनुकरणीय छ । जनविद्रोहमा उत्रेका श्रीलंकाली जनतालाई अभिवादन छ ।”

“नेपाली जनता अब श्रीलंकामा जस्तै यहाँको प्रधानमन्त्री निवास वालुटार कब्जा गर्न तयारी गर्दैछन् । उनीहरु त्यसको आव्हानको प्रतिक्षामा छन् ।” अध्यक्ष गजुरेलले भन्नुभयो, “अब हामीले चाँडै नेपाली जनतालाई त्यो आव्हान गर्नेछौं । त्यसपछि बल्ल नेपालका दलाल शासकहरुले चेत्ने छन्, सबक लिनेछन् । जनताको तागतको अन्दाजा शासकहरुलाई त्यतिबेला हुनेछ ।”

विरोधसभापूर्व रत्नपार्क शान्तिबाटिकाबाट निस्किएको ६ वाम घटकको ¥याली जमल, दरबारमार्ग, घण्टाघर हुँदै पुनः शान्तिबाटिकामा आएर विरोधसभामा परिणत भएको थियो । विरोधसभाको सञ्चालन नेकपा (बहुमत) निकट विद्यार्थी संगठनका नेता उपेन्द्र साहले गरेका थिए ।

दर्के पानीमा भिज्दै ६ वाम घटकका नेता कार्यकर्ताहरुले पूर्वघोषित संघर्षका कार्यक्रम अनुसार नै विरोध ¥यालीसहित विरोधसभा सम्पन्न गरेका छन् । काठमाडौं बाहेक अन्य प्रदेशमा भएका विरोध प्रदर्शनका समाचार आउने क्रममा रहेका छन् ।

You might also like
Loading...