शासकहरुले वालुवाटार र सिंहदरबार छोडेर भाग्ने दिन आउँदैछ : सिपी गजुरेल

0 162

काठमाडौं । ६ वाम घटकले आयोजना गरेको काठमाडौंको विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले देशमा जनघात र राष्ट्रघातले हरेक सिमा पार गरेको भन्दै अब छिट्टै शासकहरुले वालुवाटार छोडेर भाग्नुपर्ने दिन आउने बताउनु भयो ।

राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी लगायत महंगी कालोबजारी जस्ता जनजीविकाका समस्याहरुलाई लिएर ६ वाम घटकले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गजुरेलले भन्नुभयो, “शासकहरुले राष्ट्रघात र जनघातका हरेक सिमा पार गरिसकेका छन् । जनताको असिम धैर्यता अब टुट्न थालिसकेको छ । अब छिट्टै शासकहरुले वालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउँछ ।”

उहाँले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न दलालहरुले राष्ट्रपतिलाई दबाब दिइरहेको चर्चा गर्दै नेपाललाई फिजी जस्तो बनाउने राष्ट्रघातमा राष्ट्रपतिले लालमोहर नलगाउने कुरामा आफूहरु विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले राष्ट्रपतिलाई नागरिकता विधेयक संसदलाई नै फिर्ता पठाउन आफूहरुले भेटेरै आग्रह गरेको जानकारी दिंदै नेता गजुरेलले राष्ट्रपतिले प्रमाणीकरण गरे पनि राष्ट्रघाती नागरिकता विधेयक आफूहरुले नमान्ने बताउनु भयो ।


प्रतिक्रियावादीहरुको कित्तामा एकपछि अर्को संकट थपिदै गएको चर्चा गर्दै जनता सडकमा उत्रेपछि कुनै पनि तागतले प्रतिक्रियावादीहरुको लुटको स्वर्ग बचाउन नसक्ने दावी गर्नुभयो ।


कार्यक्रममा नेकपा (मसाल) समन्वय समितिका नेता ओमबहादुर, नेकपा (बहुमत)का कार्यालय सदस्य बाबुराम गजमेर, संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका प्रतिनिधि माधव दाहाल लगायतका नेताहरुले विरोध मन्तव्य राख्नुभएको थियो । रत्नपार्क शान्तिबाटिकामा भएको कार्यक्रमको अध्यक्षता नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले गर्नुभएको थियो भने सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरी सुवेदीले गर्नुभएको थियो ।

You might also like
Loading...