प्रचण्ड क्रान्तिकारी होइनन्, कमाउनिष्ट हुन्ः हेमन्त प्रकाश ओली
तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरूमध्ये एक रहनुभएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ नेकपा माओवादी केन्द्रबाट अलग भएर मोहन वैद्य, विप्लव हुँदै हाल धर्मेन्द्र बास्तोलाले नेतृत्व गर्नुभएको नेकपा बहुमत पार्टीका प्रवत्ता हुनुहुन्छ । उनै हेमन्तप्रकाश ओलीसँग राजनीतिक अवस्थाका विषयमा पत्रकार दिपककुमार शर्माले हिमालय टाइम्सका लागी गर्नुभएको कुराकानीको सारांश:-
नेपालमा कम्युनिष्ट पार्टीहरूको अवस्था कस्तो छ ?
नेपाली कम्युनिष्ट आन्दोलन पटक-पटक फुट र विभाजन प्रक्रियाबाट अगाडि बढिरहेको छ । पछिल्लोपटक यहाँसम्म आइपुग्दा केही कम्युनिष्ट भनेकाहरू प्रतिगामी तत्वहरूसँग साँठगाँठ गरिरहेका छन् भने केही कम्युनिष्टहरू फेरि एकताको अभियान लिएर अगाडि बढिरहेका छन् । क्रान्तिकारी र संशोधनवादीहरूबीच ध्रुवीकरण बढिरहेको छ । हामीलाई आशा र विश्वास छ, क्रान्तिकारीहरू विजयी भई एकता प्रक्रियाले सार्थकता पाउनेछ ।
नेपालका सबै कम्युनिष्ट पार्टीहरूलाई एउटै स्थानमा ल्याउनका लागि के गर्नुपर्ला ?
तितरवितर भएका नेपालका कम्युनिष्ट पार्टीहरूको एकताका लागि प्रयास भइरहेको छ । मोहन वैद्य किरणले नेतृत्व गरेको होस् वा अन्य कम्युनिष्ट पार्टीहरूलाई एकै थलोमा ल्याउनका लागि छलफल चलिरहेको छ । एउटा मोर्चा बनाएर अगाडि बढिरहेका छौं । अब कम्युनिष्ट सिद्धान्त भनेरमात्र भएन, कार्यान्वयनका लागि फिल्डमा खटिने नै सच्चा कम्युनिष्ट हो । यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक देखिन्छ ।
तत्कालीन माओवादी केन्द्रबाट किन अलग हुनुपर्ने अवस्था आइलाग्यो ?
२०५२ सालदेखि सुरु भएको जनयुद्धले एउटा पहलकदमी रूप लिएको थियो । त्यसको परिणाम जनताले पनि स्वीकार गरेका थिए । त्यहीअनुसारको जनयुद्धको उद्देश्य बन्दै गएको थियो, जुन उचाइमा पुगेका बेला नेतृत्वमा रहेकाले खुट्टा कमाउन थाले । त्यसको मुख्य योजनाकार पुष्पकमल दाहालले आफ्नो ज्यानको सुरक्षाका लागि १२ बुँदे सहमति गर्दै जनयुद्धलाई बीचमै तुहाइदिएपछि जनयुद्धको मर्म, उद्देश्य नै धरापमा पार्ने काम गरियो । आमूल परिवर्तनका निम्ति गरिएको जनयुद्धलाई पाखा लगाएपछि धोका पाएकाहरू र यो गलत भयो है भनेर हामी अलग भएका हौं । १२ बुँदे सहमतिले अहिले पनि प्रचण्डलाई घेरिराखेको छ । नेपाली जनतालाई एकपटक होइन, पटक-पटक धोका प्रचण्डबाट भएको छ । त्यसको जिम्मेवारी बाबुराम भट्टराईले पनि लिनुपर्छ । तत्कालीन अवस्थामा भारतको नजिक रहेका भट्टराईले नै वार्ताको एजेण्डा ल्याएका थिए । वार्तामा सात दलसँग समन्वय गरी राजा फाल्ने, लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने भन्ने १२ बुँदे सहमतिमध्येको यो बुँदाले जनयुद्धको मर्म र भावनामाथि कुठाराघात गरेको थियो । माओवादीको उद्देश्य समाजवाद ल्याउने थियो । तर, त्यो भएन, त्यसकारण १२ बुँदे सहमतिमा नै प्रचण्ड फसेको र युद्ध अपराधमा फसिने डरले नै प्रचण्डले समाजवादलाई छाडेका हुन् ।
अब कसरी, के एजेण्डा लिएर जनताका माझमा जानुहुन्छ ?
कम्युनिष्ट पार्टी भनेको प्रचण्ड र केपी ओलीले नेतृृत्व गरेका पार्टी हुन् । यिनीहरू यस्तै हुन् भन्ने जुन सन्देश गएको छ जनतामाझ त्यसलाई चिर्नका लागि हामीहरू लागिरहेका छौं । यी कम्युनिष्ट पार्टी होइनन्, कम्युनिष्टको खोल ओढेर जनतालाई भ्रम छरेर आफ्नो जीवनयापन गरिरहेका छन् । ओली र प्रचण्डले कम्युनिष्टको नाम बेचेर आफ्नो अस्तित्व जोगाइरहेका छन् । वास्तविक क्रान्तिकारी पार्टीहरूको अर्को कित्ता रहेको छ त्यसमा हामी छौं र त्यसलाई जनताको माझमा लैजानका लागि साना-साना कम्युनिष्ट पार्टीहरूकोे एकता अभियान चलाइरहेका छांै । नेपालमा कम्युनिष्टको नाममा जुन खालको गतिविधि भएको छ, त्यो कम्युनिष्ट हुनै सक्दैन त्यो त धनवादी कम्युनिष्ट हो तर हामी फेरि पनि बन्दुक बोकेर जंगल पसेर होइन, वास्तविक कम्युनिष्टहरूको एकतालाई मजबुद बनाउँदै प्रचण्डको खेतीलाई तहसनहस पार्ने र जनयुद्धको अन्त्य नभएको अवस्थामा यसको मर्म र भावनालाई प्रचारप्रसार गरी वास्तविक जनयुद्धको गन्तव्यसम्म पुग्नका लागि योजनाका साथ अगाडि बढिरहेका छौं । हो यसका लागि समय लाग्न सक्छ तर हामीले के देखिरहेका छौं भने अबको १२ वर्षपछि देशमा ठूलो संकट आउनेवाला छ ।
प्रचण्ड कम्युनिष्ट नभएर कमाउनिष्ट भएको पुष्टि भएको छ । यस्ता व्यक्तिसँग समन्वय र उसले नेतृत्व गरेको पार्टीमा लाग्नु भनेको देश र जनतालाई ठूलो धोका दिनु हो ।
कस्तो खालको संकट भन्न खोज्नुभएको हो ?
अहिलेको राजनीतिक परिवेश हेर्नुहोस्, अमेरिकाको चाहनामा एमसिसी पास भएको छ । यसैगरी एसपिए, आइपिसलगायतका परियोजनाहरू पास भएका छन् । यो भनेको अमेरिकाले नेपालमा आफ्नो प्रभाव जमाउँदै अखडा बनाउने र चीनसँग युद्ध गर्नका लागि नेपाली भूमिको प्रयोग हुन सक्ने छ । यो भएको अवस्थामा नेपालमा संकट निम्तिन सक्छ । त्यसले आर्थिक संकट, व्यापारघाटा, बेरोजगारी हृवात्तै बढ्नेछ । त्यसपछि भारत र चीनले पनि नेपाललाई सहयोग नगर्ने अवस्था आयो भने सोझै नेपाल संकटमा पर्न सक्छ । साथै गृहयुद्धको अवस्थासमेत आउन सक्नेछ । अब यो संकट मोचन कसले गर्ने भन्ने विषय महत्वपूर्ण हुनेछ ।
माओवादीसँग एकता हुने सम्भावना कस्तो छ अर्थात् पुरानै घर फर्किने सम्भावना कस्तो छ ?
त्यो अवस्था न्यून छ । तर, दलाल संसदीय व्यवस्था गलत छ भनेर प्रचण्ड आउनुभयो भने हामी सहकार्य गर्न तयार छौं । तर, अहिले उहाँको पार्र्टी सत्तामा भएका कारण जुन गतिविधि भएका छन् त्यसले एकताको सम्भावना देखाउँदैन ।
सम्पर्क हुन्छ कि हुँदैन प्रचण्डसँग ?
लामो समय भयो सम्पर्क भएको छैन । उहाँ निर्मम तरिकाबाट अगाडि बढिरहनुभएको छ । हिजो जनयुद्धका बेलामा हामीसँग समन्वय गरेर अगाडि बढ्ने प्रचण्ड आज हामीलाई क्रान्तिकारी होइनन् भन्नसमेत भ्याउनुभएको छ । यो अवस्थामा आइपुग्दा उहाँ कम्युनिष्ट नभएर कमाउनिष्ट भएको पुष्टि भएको छ । यस्ता व्यक्तिसँग समन्वय र उसले नेतृत्व गरेको पार्टीमा लाग्नु भनेको देश र जनतालाई ठूलो धोका दिनु हो ।
अहिलेको सत्ता गठबन्धन र माओवादीको अवस्था कस्तो देख्नुभएको छ ?
यो गठबन्धनको कुनै एजेण्डा छैन । सत्तामा रहिराख्न त्यसको स्वाद लिन पल्केकाहरूको जमात हो । यो गठबन्धन सधैँ सत्ता र शक्तिमा रहिराखांै भन्ने सोचबाट निर्मित छ । यो गठबन्धनले माओवादीलाई पतनको बाटोतर्फ लगिरहेको छ । यही अवस्था अझै केही वर्ष रहिरहने हो भने माओवादी पतन हुन कुनै समय लाग्दैन । कम्युनिष्टको नाममा जमघट हुने स्थान भनेको नेकपा एमाले नै हो । नेपाली कांग्रेसले पँुजीवादीहरूको नेतृत्व गर्ने भएको हुँदा नेकपा माओवादी एमालेसँग मिल्नुको विकल्प देखिँदैन । त्यसकारण माओवादीको अबको भविष्य अन्धकारमय बन्दैछ । यसको जिम्मेवारी प्रचण्डलाई नै जान्छ ।
अहिले प्रचण्डकै वरिपरि देशको राजनीति घुमिरहेको छ, भनिन्छ नि ?
यो प्रचण्डको वाहियात प्रचार हो । यो माओवादीबाटै प्रचार गर्न लगाइएको हो । प्रचण्डले पार्टीको भन्दा पनि आफ्नो अस्तित्व जोगाउनका लागि कहिले नेकपा एमालेसँग त कहिले नेपाली कांग्रेससँग कुम जोडेर हिँडिरहनुभएको छ । प्रचण्डको आफ्नै अस्तित्व मेटिसकिएको अवस्था छ । प्रचण्डले भन्ने गरेको समाजवाद हिजडा समाजवाद हो । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद भनेको छ । हामीहरूले वैज्ञानिक समाजवाद भनेका छौं । तर, माओवादीको पछिल्लो गतिविधि हेर्ने हो भने पुँजीवादीतर्फ लम्किरहेको प्रष्ट देखिन्छ ।
तपाईं लामो समयसम्म माओवादीमा रहनुभयो, नढाँटीकन भन्नुपर्दा माओवादीलाई गठबन्धन किन चाहिएको होला ?
कुनै बेला आवश्यक थियो तर त्यो लामो समयसम्म टिक्न सक्ने अवस्था छैन । गठबन्धन आवश्यक भन्दा क्रान्तिकारीरू एक हुनुपर्ने अवस्था हो । गठबन्धनका सबै दलहरू अवसरवादी हुन्, सिद्धान्त, विचार अगल-अलग भए पनि मिलेर खाने आफ्नो संस्कारका कारण यी सिद्धान्त नै नभएका पार्टीहरूको गठबन्धन लामो समयसम्म टिक्लाजस्तो मलाई लाग्दैन ।
मंसिर ४ गतेको निर्वाचनमा भाग नलिनुको कारण के हो ?
विश्वको इतिहास हेर्ने हो भने संसदीय व्यवस्थामा भाग लिएर समाजवाद आएको देखिँदैन, हामी संसदीय व्यवस्थामा भाग लिँदैनौं र साँच्ची नै समाजवाद नेपालमा ल्याउने हो भने प्रचण्डलाई म के आग्रह गर्दछु भने अझै तपाईंलाई सुध्रिने मौका छ आउनुहोस् जनयुद्धको मर्म र भावनाअनुसार अगाडि बढौं । यो व्यवस्थालाई अँगालेर नेपालमा समाजवाद आउँदैन । हामीहरू समाजवाद स्थापना गर्ने एजेण्डा बोकेको हुनाले त्यो समाजवाद यो संसदीय व्यवस्थाबाट स्थापना हुन नसक्ने ठानेर नै निर्वाचनमा भाग नलिएका हौं ।