चुनाव बहिष्कार अभियान तीव्र: संघर्ष गर्न बाध्य नपार्न क्रान्तिकारी माओवादीको चेतावनी

0 437

पाल्पा । आसन्न मङ्सिर ४ गते हुन गैरहेको संसदीय  चुनावलाई सशक्त तथा सक्रिय बहिस्कार गर्ने र त्यसका लागि बहिष्कार आन्दोलन संचालन गर्ने केन्द्रीय समितिको निर्णको कार्यान्वयनका लागि नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशद्वारा संचालन गरिएको अभियान आज पाल्पा जिल्ला प्रवेश गरेको छ ।

पाल्पा जिल्लाको रम्भा गाउँपालिका ३ राम्दीमा कोणसभा  सम्पन्न गरेको छ । उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पाेलिट ब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनको क्रममा न्यौपानेले हाम्रो अभियानले जनताको आलोचनात्मक चेतना तथा विद्रोहको स्थितिलाई संगठित गरी विद्यमान संकटको समाधान र पुरानो सत्ता र व्यवस्थाको विकल्पको रुपमा संघीय जनगणतन्त्रको स्थापनाको आधार तयार पार्ने तथा मुलुकलाई सही निकास तर्फ लैजाने अभियानको मूल अभिप्राय रहेको चर्चा सहित अभियानको लक्ष्य र उद्देश्यहरुको विषयमा सारगर्भित विचार प्रकट गर्नु भयो ।

साथै,उहाँले असफल पुरानो सत्ता र संसदीय व्यवस्थालाई ध्वंस गरी संघीय जनगणतन्त्र स्थापना गर्नु नै आजको सही र वैज्ञानिक विकल्प रहेको पनि ठाेकुवा गर्दै आसन्न मंसिर चार गते हुने भनिएको कथित संसदीय निर्वाचन बहिष्कार गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी, सच्चा कम्युनिस्ट तथा आम सचेत नागरिकहरुमा विशेष अपिल समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार सदस्य मानध्वज श्रेष्ठ र पार्टीका केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज बिपीन रोकाय र जिल्ला सचिव पदम लामिछाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मनोज थापाले गर्नु भएको थियो ।

कार्यक्रमअनुसार बहिष्कार र्याली, कोणसभा आदि भइरहेको उक्त पार्टीका नेताले जनपथ खबरलाई बताएका छन । धेरै कार्यक्रमहरु शान्तिपूर्ण रुपले अगाडि बढीरहेको समयमा केही जिल्ला सदरमुकामहरुमा भएका कोणसभाहरुमाथि प्रहरीले हस्तक्षेप गरी लोकतन्त्रविरुद्धका कार्यहरु वर्तमान सरकारको प्रशासनले गरेको पार्टीको दावी छ ।

You might also like
Loading...