महासचिव “किरण”द्धारा २८ औं जनयुद्ध दिवसमा क्रान्तिकारीहरुलाई एकताबद्ध हुन आव्हान

0 485

काठमाडौं । २८ औं जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले एक ऐतिहासिक महत्वको प्रेस वक्तव्य जारी गर्नुभएको छ । जनयुद्धको पूर्वसन्ध्यामा जारी वक्तव्यमा विभिन्न क्रान्तिकारी समूहहरु, भ्रमबस विभिन्न अवसरवादी पार्टीमा छरिएर रहेका क्रान्तिकारीहरु, स्वतन्त्र व्यक्तित्वहरु र आम उत्पीडित जनतालाई क्रान्तिको प्रक्रियामा एकताबद्ध भई अगाडि बढ्न विशेष आह्वान गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “यतिबेला नेपालमा क्रान्तिले गम्भीर धक्का खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । विश्व सर्वहारा वर्गले आर्जन गरेका अनुभवहरुबाट पाठ सिक्दै, माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै हाम्रो पार्टी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि क्रान्तिको तयारीमा निरन्तर लागि परेको छ । आज अठ्ठाइसौं जनयुद्ध दिवसको अवसरमा हामी विभिन्न क्रान्तिकारी समूहहरु, भ्रमबस विभिन्न अवसरवादी पार्टीमा छरिएर रहेका क्रान्तिकारीहरु, स्वतन्त्र व्यक्तित्वहरु र आम उत्पीडित जनतालाई क्रान्तिको प्रक्रियामा एकताबद्ध भई अगाडि बढ्न विशेष आह्वान गर्दछौं ।”

देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाको प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएकोले नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “जनयुद्धको जग र जनआन्दोलनको बलमा नेपाली जनताले प्राप्त गरेका सीमित लोकतान्त्रिक अधिकारहरु क्रमश: खोसिंदै गएका छन् । देशमा आर्थिक सङ्कट गम्भीर बन्दै गएको छ, व्यापार घाटाले आकाश छोएको छ र आम बेरोजगारी तथा अनियन्त्रित महङ्गीका कारण श्रमजीवी जनतालाई जीवन धान्न धौ धौ भएको छ । कृषि उत्पादन तथा वितरणको उचित व्यवस्थापन र देशमा उद्योगहरुको स्थापना मार्फत् रोजगारीको ढोका खोल्ने र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने आत्मनिर्भरताको बाटो त्यागी नेपालका शासकवर्गले वैदेशिक रोजगारीका नाममा युवाहरुलाई विक्रीगरेर त्यसबाट प्राप्तहुने विप्रेषणले देशको अर्थतन्त्र चलेकोमा “गौरव” गर्ने गरेका छन् । हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग रहेको एमसीसी परियोजना तथा एसपीपी जस्ता राष्ट्रघाती संझौता गरेर नेपाललाई अमेरिकी सैन्यअखडा बनाउने बाटो खोलिएको छ । भारतीय शासकवर्गले गरेको सीमा अतिक्रमण तथा राजनीतिक, आर्थिक एवम् सांस्कृतिक हस्तक्षेपको सामान्य कूटनैतिक विरोधसम्म पनि नगरेर नेपाली शासकहरुले विस्तारवादी शासकका सामु घुँडा टेक्दै आएका छन् । यो सबै नेपालका संसदवादी पार्टीका शीर्ष नेताहरु नै देशको औपनिवेशीकरण गर्ने प्रक्रियामा साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा मतियार बन्न जानुको परिणाम हो । यसरी देशको राष्ट्रिय स्वाधीनता, जनतन्त्र तथा जनजीविकाको प्रश्न दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । यसले नेपालमा नयाँ जनवादी क्रान्ति अनिवार्य आवश्यकता बन्न गएको तथ्य स्पष्ट गर्दछ ।”

पार्टीको मूल नेतृत्वमा पैदाभएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण क्रान्तिप्रति गद्दारी भएको र क्रान्ति प्रतिक्रान्तिमा बदलिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गको शोषण, दमन तथा उत्पीडन र बाह्य रुपमा साम्राज्यवाद तथा भारतीय विस्तारवादको हस्तक्षेपका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फ अगाडि बढ्न आज भन्दा ठीक सत्ताइस वर्ष पहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा महान् जनयुद्धको उद्घोष गरिएको थियो । छोटै समयमा उक्त जनयुद्ध ७ डिभिजन जनमुक्ति सेनाको निर्माण, देशको विशाल ग्रामीण भूभागमा जनसत्ताको स्थापना र जनसरकारको गठन गरी विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, पार्टीको मूल नेतृत्वमा पैदाभएको दक्षिणपन्थी नवसंशोधनवादी विचलनका कारण क्रान्तिप्रति गद्दारी भएको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ र महान् नेपाली जनयुद्ध एउटा गौरवशाली इतिहास बनेको छ । हिजोका क्रान्तिका मूल नायक आज त्यही पुरानो प्रतिक्रियावादी सत्ता, उही संसदीय व्यवस्था तथा जनविरोधी संविधानका रक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन् ।”

वक्तव्यमा जनयुद्धको प्रक्रियामा नेपाली जनताले देखाएको अपूर्व त्याग, बलिदान तथा वीरताका उच्च कीर्तिमानहरुको स्मरण गर्दै सहिद तथा बेपत्तायोद्धाका परिवारजन, सम्पूर्ण पार्टीसदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल सलाम व्यक्त गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “भोलि २०७९ फागुन १ गते अठ्ठाइसौं जनयुद्ध दिवस हो । यस अवसरमा हाम्रो पार्टीले देशभरि विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरी महान् जनयुद्ध दिवस मनाउन गइरहेको छ । सर्वप्रथम, हामी नेपाली क्रान्तिको प्रक्रियामा जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, क्रान्तिको प्रक्रियामा नेपाली जनताले देखाएको अपूर्व त्याग, बलिदान तथा वीरताका उच्च कीर्तिमानहरुको स्मरण गर्दै हाम्रो पार्टी सहिद तथा बेपत्तायोद्धाका परिवारजन, सम्पूर्ण पार्टीसदस्य कमरेडहरु, समर्थक तथा शुभचिन्तक जनसमुदाय एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु लगायत विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल सलाम गर्दछ ।”

You might also like
Loading...