पाँचौ राष्ट्रिय सम्मेलन, नेपाली मजदुर आन्दोलन र आगामी कार्यभारको दिशा

0 237

नेपाली मजदुर आन्दोलनमा क्रान्तिकारी धाराको रक्षा र विकासको निम्ति प्रयत्नशिल हाम्रो संगठनको ऐतिहासिक राष्ट्रिय सम्मेलन विराटनगरमा सम्पन्न भयो । मजदुर आन्दोलनको जग बसेको मात्रै होइन नेपालको औद्योगिकरणको प्रक्रिया समेत विराटनगरबाट नै सुरु भएको हुनाले विराटनगर मजदुर आन्दोलनका दृष्टिले महत्वपूर्ण छ । नेपालको शासन प्रणाली परिवर्तन गर्ने जहाँनिया राणा शासनलाई अन्तिम धक्का दिने मजदुर आन्दोलनको भूमिका पनि विराटनगरले नै पुरा गरेको थियो । नेपालको औद्योगिकरण, श्रम शोषणका विरूद्ध संघर्ष, राजनीतिक परिवर्तको सन्दर्भमा निर्वाह गरेको भूमिकाको साथै मुख्य औद्योगिक शहर हुनुको नाताले सम्मेलनको सन्देश विराटनगरबाटै दिन खोज्नु आफैमा महत्वपूर्ण हुन्छ । २६–२८ फाल्गुण २०७४ को मितिमा तय गरिएको यो सम्मेलन, कयौं प्रकारका प्रतिकूलताका बीचमा घोषणा गरिएको थियौं। हामीले संगठनको ठूलो हिस्साको स्थानान्तरण बेहोरीरहेका थियौं । बुझाइ र काम गराइमा एकरूपता कायम गर्ने कुरामा समस्याहरु थिए । देशव्यापी संगठनात्मक संरचना निर्माण गर्ने योजना अनुरूप काम हुन सकिरहेको थिएन । निर्देशन, नियन्त्रण, नियमन जस्ता संगठनात्मक पद्धती कमजोर थिए। कयौं प्रकारका संकीर्णता र अकर्मण्यताले आन्दोलनमा प्रभाव पारिरहेको थियो । राजनीतिमा व्याप्त संशोधनवादको प्रभाव मजदुर संगठनमा पनि पर्ने हुन्छ । स्वभावैले त्यसका विरूद्धमा लड्ने चुनौती पनि विद्यमान थिए। मजदुर आन्दोलनमा अर्थवाद, ट्रेड युनियनवाद एवं वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको दुषित हावा चलिरहेको हुन्छ । त्यसका बीचबाट क्रान्तिकारी मजदुर आन्दोलनको केन्द्र निर्माण र विकासको चुनौती सामना गर्दै सम्मेलनमार्फत सहि नीति र नेतृत्व निर्माणको अहं अभिभारा बहन गर्ने दायित्वबाट अभिप्रेरित हुँदै सम्मेलनमार्फत सन्देश प्रवाहित गर्न हामिले तत्परता लिएका थियौं। अर्थात क्रान्तिकारी मजदुर आन्दोलन संशोधनवाद तथा अर्थवादका विरुद्ध संघर्ष र कयौँ आन्तरिक र बाह्य बिजातिय प्रवृत्तिको सामना गर्दै विकास गरिरहेकाले अप्ठ्यारा, घुम्ती पार गरेर हिड्नु पर्ने परिस्थितिमा हामीले अगाडि बढ्ने संकल्प गर्नु सम्मेलनको कार्यभार हुन्थ्यो । साथै देशव्यापी संगठनात्मक आधारको विकास र बिस्तार गरेर एवं विभिन्न पेशागत संघहरूको समेत प्रतिनिधित्वको गराउदै सम्मेलनलाई गुण र मात्रा दुबै हिसाबले उचाई प्रदान गर्नु पनि आवस्यक हुन्थ्यो । कयौ प्रतिकुलताका विरूद्ध जुझ्दै सम्मेलन अगाडि बढाउन महासंघका नेता, कार्यकर्ता तथा अगुवा साथीहरु लगायत प्रतिनिधि, पर्यवेक्षकहरूले गरेको सामूहिक अठोटको परिणति पाँचौ राष्ट्रिय सम्मेलनको भव्यता हो ।

मजदुर आन्दोलनमा क्रान्तिकारी धाराको मुल प्रवाहको रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको संगठनको सम्मेलनबारे मित्रहरु, आलोचक र विरोधी सबैको ध्यानाकर्षण हुनु पनि अन्यथा थिएन । विभिन्न चासो र अपेक्षाका बीच विभिन्न ट्रेड युनियनका नेतृत्वबाट सम्मेलन सफलताको शुभेच्छा र शुभकामना प्रत्यक्ष र परोक्ष प्राप्त हुनु पनि यसको महत्त्व र मूल्य बोधका दृष्टिबाट महत्त्वपूर्ण हुन्छ । हामीले त्यो प्राप्त गरेका छौं ।

हामीले बुझेका छौं कि, सम्मेलनको मुख्य कार्यभार विगत वर्षका नीति, योजना र कार्यक्रमको समिक्षा गर्नु र आगामी वर्षहरूको नीति, योजना र कार्यक्रमको निर्माण गर्नु हो । नीति र नेतृत्वको सम्बन्धलाई कसिलो बनाउनु हो । नेतृत्वको यस्तो कसिलो एकता कायम गर्नु कि जसमा आम जनसमुदाय तथा लच्छित वर्गलाई आकर्षण गर्न सक्ने गुरूत्व पैदा होस । विस्वास पैदा गर्न सक्ने गुरूत्व बल होस । विश्रृंखलित हुँदै स(साना समूहमा विभाजित मजदुर आन्दोलनलाई एकताको सूत्रमा बाघ्न सक्ने बलियो केन्द्र निर्माण गर्ने अभिभारा हो । त्यही कार्यभार पूरा गर्ने नीति, नेतृत्व र कार्ययोजनाका साथै विधि पद्धतिमा विकास गर्न पर्दछ। बिराटनगरको सम्मेलनले नेतृत्व निर्माणको विचार र विधिको समेत थप समृद्ध गर्ने कार्य गरेको छ जसले आगामी मजदुर आन्दोलनको बलियो क्रान्तिकारी केन्द्र निर्माण गर्दै हजारौं मजदुर नेताकार्यकर्ता संकेन्द्रण गर्ने सामर्थ्य राख्नेछ ।


मजदुरहरूका पेशागत समस्या चर्कदो छ । तलब ज्याला निकै कम छ । रोजगारीको स्थायीत्व छैन । मालिक वा व्यवस्थापनले चाहेको बखत रोजगार गुम्ने खतरा छ । रोजगारीको स्थायित्व नभएपछि सामाजिक सुरक्षा स्वतः भ्रम र धोका सिवाय केही हुने छैन । दैनिक जीवन कष्टकर छन भने मजदुरहरूका बाल(बालिकाहरूको शिक्षा दिक्षाको जटिलता कहालीलाग्दो छ । मालिकहरू रातारात धनी हुने र मजदुरहरूका कठिनाईमा वृद्धि हुने क्रम झन्झन् बढ्दो छ । मजदुरहरूलाई आफ्ना गुनासा र समस्या उठाउने वातावरण छैन । संगठन निर्माण र मागपत्र राख्ने स्थितिमाथि अघोषित नियन्त्रण कायम गरिएको छ । विगतमा होटल मजदुरहरूले प्राप्त गरेका सेवा शुल्क मात्रै होइन गलैँचा लगायत क्षेत्रका मजदुरहरूले प्राप्त गरेका प्रायः सेवा सुबिधा समाप्त पारिएका छन् । औद्योगिक सुरक्षाबलका नाममा सशस्त्र सेनाको त्रासदीका बीचमा मजदुरहरूका आस्था राख्न पाउने र सो को प्रचार गर्ने अधिकार खोसिएको छ । हड्ताललाई हतोत्साहित गरिदै आइएको छ । एकातिर लोकतन्त्र र समाजवाद उन्मुख संविधानको महिमागान, अर्कोतिर मजदुर विरोधी नीति नियमको निर्माणको धन्दा चलाइएको छ । कानुनीरुपमा मजदुरहरूका अधिकार प्रायः समाप्त पारिएका छन । मजदुर संगठनहरू या त समाप्त पारिएका छन या त साहु मालिकहरूका चाटुककारमा बदलिएका छन । साशनसत्ताको आडमा पुँजिपति र मजदुरहरूका बीचमा हुने विवादबाट फाइदा लिएर जिविकोपार्जन गर्ने चिन्तन व्यबहार भएका त्यस्ता ट्रेड युनियनहरूले मजदुर आन्दोलनमा गम्भीर भ्रम समेत पारिरहेका छन । त्यस्ता संसदीय र यथास्थितिवादी तत्वहरू मजदुरहरूको नेतृत्व गरेको स्वाङ गरेर मालिकहरूसँग गुप्त सम्बन्धमा छन् । यस्तो अवस्थामा मजदुर आन्दोलनको क्रान्तिकारी वैचारिक सहित पुनर्गठन, पुनर्निर्माण वा क्रान्तिकारी केन्द्र निर्माण गर्ने कुरा प्राथमिक महत्त्वको कुरा हो र हुनुपर्छ ।

हामीलाई थाहा छ, विचारधारात्मक रूपले उदारवाद र संशोधनवादका विरूद्धमा नलडी मजदुर आन्दोलनले आफ्नो गन्तव्यमा पुग्न सम्भव छैन। मार्क्सवादको उज्ज्वल वैचारिक मार्ग दर्शनमा मात्रै त्यसका विरूद्ध लड्न र विजय प्राप्त गर्न सम्भव छ । उदारवाद आजको विश्व पूँजिवादको वैचारिक अस्त्र हो। मार्क्सवाद मजदुरवर्गको वैचारिक अस्त्रको हो । मार्क्सवादको खोल ओढेर पुँजिपतिवर्गको हितको निम्ति काम गर्ने वैचारिक राजनीतिक धार संशोधनवाद हो । उदारवाद र संशोधनवादको सम्बन्धलाई बुझेर मात्रै मजदुरवर्गले समाजवादको बाटोमा खडा भएको तगारो देख्न सकिन्छ र त्यसलाई पन्छाएर अगाडि बढ्ने मार्ग प्रशस्त हुन्छ । मजदुर आन्दोलनको कुरा गर्दा राजनीतिका गम्भीर प्रश्नको हल निकालेर मात्रै यसको हल निकाल्न सकिन्छ । आ(आफ्ना वर्गका स्वार्थका निम्ति निर्धारित सिद्धान्तले आ आफ्ना वर्गका हितको निम्ति काम गरिरहेका हुन्छन् । अतः राजनीति सचेत मजदुर आन्दोलनको प्रश्न हाम्रालागि धेरै महत्त्वको कुरा हो । आफ्नो सारतत्वमा मजदुर आन्दोलन भनेको राजनीतिक आन्दोलन हो । राजनीतिक उद्देश्यले अभिप्रेरित हुँदै मजदुर आन्दोलनका प्रश्नहरूलाइ बुझेर मात्रै हामीले यसको दिशा पहिल्याउन सम्भव हुन्छ ।

हजारौं वर्षको वर्गसंघर्षको इतिहास बिताएर मानव समाज यहाँसम्म आइपुगेको छ । आ(आफ्ना वर्गको उन्नति, प्रगति र विजयको निम्ति वर्गीय विचारको स्थापना र विकास हुँदै आएको छ । फ्रान्सेली क्रान्तिका विचारहरूको प्रेरणाले सामन्तवादलाइ पराजित गरेर पुँजिपतिवर्ग आज विश्वव्यापी प्रभुत्व कायम गरिरहेको छ । सामन्तवर्गसँग लड्न मजदुरवर्गको सहायता लिएको पुँजिपतिवर्गले मजदुरवर्गमाथिको शोषण दमनलाई झन चर्काउदै लगेको परिप्रेक्षमा मजदुरवर्गले आफ्नो युगको नेतृत्व गर्न वैचारिक निर्माण कार्यलाई उत्कर्षमा पुऱ्याउने काम मार्क्स र एंगेल्सले गरे जसलाई हामी मार्क्सवाद भन्दछौ, त्यसमा थप विकास र समृद्धिकरण लेनिन र माओत्सेतुङले गरे जुन वैचारिक विकासको उच्चतामा पुगेको ज्ञानको चरणमा आधारित भएर लेनिनवाद र माओवाद को स्थापना भएको सच्चा कम्युनिस्ट एवं मजदुरवर्गले मान्दै आएको छ । मजदुरवर्गले आफ्नो पथ प्रदर्शक सिद्धान्तको रुपमा माओवादलाई आजको युगको व्याख्या गर्ने र बदल्ने वैचारिक अस्त्र हो भन्ने प्रश्नमा प्रतिबद्ध भएर मजदुर आन्दोलनको कार्यदिशा निर्माण गर्नु अपरिहार्य छ ।

पुँजिपति वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरेर गरेको फ्रान्सेली क्रान्ति जसले सामन्तवादका विरूद्ध लडेर ऐतिहासिक दायित्व पूरा गरेको थियो त्यो अब मजदुरवर्गका विरूद्ध प्रतिक्रियावादीवर्गका रूपमा उभिएको छ । मजदुरवर्गले पुँजिपतिवर्गका विरुद्ध न्याय र समानतामा आधारित समाजवादी क्रान्तिको झण्डा उठाएर बोल्सेभिकहरूले जुन ऐतिहासिक भूमिका निर्वाह गरे त्यो आजको युगको मजदुरवर्गको नेतृत्वदायी क्रान्ति हो । आधारभूत रूपमा बोल्सेभिक क्रान्तिलाइ मजदुरवर्गको युगको सुत्रपात र पुराना सबै युगान्तकारी क्रान्तिको उच्चा संश्लेषण रुपमा बुझ्न र त्यही क्रान्तिको आधारभूत कार्यक्रममा आधारित भएर नेपालको आजको ठोस परिस्थिति अनुसार नीति, योजना र कार्यक्रम बनाउन पर्दछ । त्यो भनेको नयाँ जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्तिको बाटोमा पुग्ने कार्यभार पहिलो महत्त्वको कार्यभार हो । त्यसको निम्ति हामीलाई योग्य संगठन चाहिएको छ । योग्यतम नेता कार्यकर्ताहरूको केन्दृकरण गर्न सक्ने, परिचालन गर्न सक्ने र मजदुरहरूका दैनिक जीवनसँग जोडिएर काम गर्न सक्ने सचेत क्रान्तिकारी अग्रदस्ता निर्माण गर्नु दोश्रो कार्यभार हो । देशको श्रम बजारमा क्रियाशील लाखौं मजदुरहरूमाथि उद्योगपति, पुँजिपतिहरूले खडा गरेका अवरोध पन्छाउदै प्रतिष्ठान तहसम्म संगठनको जालो निर्माण गर्दै पेशागत संघर्ष अगाडि बढाउने कार्यभार हो। तेस्रो,बिश्वब्यापी फैलिएर रहेका नेपाली मजदुरहरूसँग सम्बन्ध सुदृढ गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नु। चौथो, राजनीतिक मुद्दाहरु समेतलाई स्थानीय र केन्द्रीय स्तरमा संघर्ष उठाउने पहल लिनु । पाँचौं, सूचना र संचारमा भैरहेको विकासलाई समेत मध्यनजर गरेर सो अनुरूपको प्रचार नीति एवं प्रविधि अनुकूलका ज्ञान् सीप अभिवृद्धि गर्ने शिक्षण विधि विकास गर्ने कार्यभार हो । छौटौं, साम्राज्यवाद विरूद्धको संघर्षमा एकाकार हुँदै अगाडि बढ्न संयुक्त मोर्चा र कार्यगत एकताका निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विकास गर्ने कार्यभार हो । सातौं, जनवादी एवं वैज्ञानिक समाजवादी स्कुललाई व्यबस्थित बनाउदै देशव्यापी घुम्ती स्कुल संचालन गर्दै श्रम सहकारीको व्यबहार, संस्कृतिको निर्माण गर्न ठोस पाइला चाल्ने कार्यभार हो । आठौं मजदुर, किसान, उत्पीडित जनसमुदाय लगायतका श्रमजीवि वर्गले अगाडि बढाउने संघर्षमा एकाकार हुँदै सहकार्य अगाडि बढाउने कार्यभार हो । नवौं, देशभक्त, जनवादी, वामपंथी लगायत शक्तिहरूले अगाडि बढाउने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा एकाकार हुँदै अगाडि बढ्ने कार्यभार हो । दसौं, । विभिन्न प्रगतिशील शक्तिहरूका बीचमा बहस, छलफल र अन्तक्रियाका कार्यक्रम मार्फत संगठनलाई स्थापित गर्दै लैजाने आदि। संक्षिप्तमा माथि प्रस्तुत कार्यभार अनुरूप हामीले हाम्रा कार्यक्रम र योजनालाई अभिमुखिकरण गर्न सक्नु पर्दछ । हामीलाई सम्मेलनमार्फत प्राप्त निर्देश नै आजको हाम्रो ज्ञान, चेतना र क्षमताको स्तरको अभिव्यक्ति पनि हो र हामी हाम्रा योग्यताको सिमाका बीचबाट निर्धारित कार्यभार पूरा गर्दै थप समृद्ध तुल्याउन सफल हुनेछौ भन्ने दृढ विश्वासका साथ अगाडि बढौं । आजको युग मजदुरवर्गको युग हो यसको नेतृत्व गर्ने अठोट गरौ । क्रान्तिकारी मजदुर तहसम्म संगठनको जालो निर्माण गर्दै पेशागत संघर्ष आन्दोलनको विकासको गति र वेगलाई कसैले रोक्न सक्ने छैन।

ईश्वर तिमिल्सिना, उपाध्यक्ष अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ

You might also like
Loading...